नेपाली ह्रस्व दीर्घको नियम

डा. देवचन्द्र सुब्बा (सारांश)

पहिलो सूत्र
तत्समबाहेक अन्य शब्दहरू (तद्भव, आन्तुक, झर्रो) नेपालीमा लेख्दा शब्दका सुरु र बिचमा ह्रस्व ‘इ’ ह्रस्व ‘उ’ र अन्त्यमा दीर्घ ‘ई’ दीर्घ ‘ऊ’लेख्ने।

पदका आदिमा ह्रस्व ‘इ’ लाग्ने शब्दरू - मिठो, तितो, हिजो, किरो (किरा), पिरा, पिर, तिर, झिर, खिर, किन, किताप, लिटो, पिठो, मिठाई, पिटाई, सिटा, सिता, मित, टिस्टा, चिरेटो, चिम्टा, चिम्टी, छिटो, छिर्नु, छिटा, छिनो, जिरा, झिङ्गा (झिङ्गो), बिटो (बिटा), तिखो, बिहान, किनार, जिल्ला, चिया, चिज, निसान, सिरक, गिलास, जिम्मा, टिकट, इन्ची, बुट, गुलाफ, जुलेबी, मुन्धुम, गुरुङ, रुख, जुवा, थुन, जुन (चन्द्रमा) सुकुल, टुरिस्ट, चुकुल, चुरा, सुन, नुन, भिसा, गुन्दुक, घुर्की, आदि।

पदका मध्यमा ह्रस्व ‘इ’ ‘उ’ लाग्ने शब्दहरू- बहिनी, हरियो-परियो, जमिन, कोसिस, तौलिया, पुलिस, चाम्लिङ, चाउमिन, मालिक, महिना, अहिले, कमिला, कलिलो, बलियो, मलिलो, अमिलो, गुलियो, दारिम, दछिना, तारिख, अमिन, गरिब, गहिरो, पदिना, हँसिया, रसिद, राजिनामा, सहिद, अम्लिसो, हस्पिटल, तरुल, कोइली, पहुना, अङ्गुर, जादुगर, मजदुर, जुलुस, बन्दुक, पेन्सिल, बुरुस (ब्रस), चुकुल, बिस्कुट, हाइकु, कन्जुस, गुनिउँ, बाउसे, पटुका, दार्जिलिङ, कालेबुङ, सिक्किम, आदि

पदका अन्त्यमा दीर्घ ‘ई’ ‘ऊ’ लग्ने शब्दहरू- रुन्ची, इन्ची, कैची, सिन्की, बाजी, तर्कारी, रोगी, निरोगी, बैगुनी, सानी, ठुली, गोरी, काली, राम्री, तरुनी, तन्नेरी, नानी, नाती, पनाती, जाती (सन्चो), अलच्छिनी, गन्ती, (गिन्ती), बारी, वारी, पारी, जेठी, माइली, काइली, अन्तरी, जन्तरी, मन्तरी, लखन्तरी, कान्छी, लुती, नराम्री, वरिपरी, चुलबुली, बराबरी, बरबरी, पोखरी, पाथी, ग्राग्री, दही, बहिनी, साडी। आदि

तत्सम: नेपालीमा संस्कृतबाट उही रूप र अर्थमा आएका शब्दहरूलाई हामी तत्सम शब्द भन्छौँ ।तत्सम शब्दहरू लेख्दा संस्कृतकै नियमअनुसार लेख्ने, त्यसको रूप वा हिज्जेमा परिवर्तन नगर्ने। (यद्यपि व्यक्तिको नाम चाहिँ व्यक्तिले आफ्ना इच्छाअनुसार लेख्न सक्छन्। जस्तै परसुराम पौड्याल, दसरथ खरेल)।

तद्‌भव : संस्कृतका शब्दहरू प्राकृत हुँदै नेपाली भाषामा आएकालाई हामी तद्‌भव भन्छौँ। जस्तै- /अक्षि (संस्कृत), अक्खि (प्राकृत), आँखो (नेपाली)/ /कोकिल (संस्कृत), कोइल (प्राकृत), कोइली (नेपाली)/ /घृत (संस्कृत), घिअ (प्राकृत), घिउ (नेपाली)/

आगन्तुक : संस्कृत बाहेकका भाषाहरूबाट आएका शब्दहरू आगन्तुक हुन्। जस्तै: हिन्दी, अङ्ग्रेजी, उर्दू, फारसी, तुर्की बङ्गाली, भोट बर्मेली परिवारका, आदि भाषाहरूबाट आएका शब्दहरू:- पुलिस, सहिद, पेन, बहादुर, जलेबी (जुलाबी), सिनेमा, पिक्चर, ब्रस।


दोस्रो सूत्र

१. स्त्रीलिङ्गी नामका अन्त्यमा सबै दीर्घ लेख्ने।

दिदी, केटी, माइजू, भाउजू, काकी, बडी, निनी, बहिनी (बैनी), फुपू, सासू, स्वास्नी, बुढी, गाई, भैँसी, रानी, कुमारी, सम्धिनी, भङेरी, आदि। (जाति सूचक स्त्रीलिङ्गी नाम नलेख्ने भन्ने धारणा छ। हिजोआज जाति सूचक स्त्रीलिङ्गी नाम लिखिँदैन। तर लेख्न परेका खण्डमा यसरी लेख्ने –राइनी, लिम्बुनी, मगरसेनी, गुरुङसेनी, तामङसेनी, कर्केनी (कार्किनी) छेत्रिनी, बाहुनी, सर्केनी (सार्केनी), मुखायनी, नेवरनी, लप्चेनी आदि)

२. पुलिङ्गी शब्दका अन्त्यमा सबै ह्रस्व लेख्ने।

गुरु, भाइ, दाजु, फुपाजु, भेनाजु, जेठाजु, दाइ, गोरु, नाति, पनाति, खनाति, बाबु, ज्वाइँ आदि। 
अपवाद: सम्धी, स्वामी, खसी, जोगी |

३. *सङ्ख्या बुझाउने शब्दहरू दीर्घ लेख्ने तर ‘उ’-लाई ‘ऊ’ नलेख्ने : दुई, तीन, उन्नाईस, बीस, बाईस, तेईस, सत्ताईस, उन्तीस, उन्चालीस, उनासी आदि। 

*परिमाण बुझाउने शब्द चाहिँ इकारन्त भए ह्रस्व लेख्ने: कति, उति, यति, त्यति, जति, अलिकति आदि। 

४. स्थान, धर्म, जात-जाति, थर, भाषा, पेसा, नदी बुझाउने शब्दहरूका अन्त्यमा दीर्घ लेख्ने।

- सुनसरी, सप्तरी, मुम्बई, दिल्ली, टिस्टाभेल्ली, लखनऊ 
- हिन्दू, इसाई, पारसी  
- राई, लिम्बू, छेत्री, मधेशी, जोगी, सन्यासी, बङ्गाली, बिहारी, पन्जाबी, मारवाडी
- भट्टराई, बराइली, रसाइली, गदाइली, कार्की, अधिकारी, जोसी
- नेपाली, अंग्रेजी, हिन्दी, हिब्रू, बङ्गाली, पन्जाबी 
- प्रहरी, सिकर्मी, डकर्मी, धोबी, मोची, व्यापारी, सिपाही 
- मेची, महाकाली, कोशी, नारायणी, बागमती, कर्णाली, भेरी, सेती  


तेस्रो सूत्र (पाँचवटा बुँदा)

१. अव्यय वा अविकारी शब्द ह्रस्व ‘इ’ लेखिन्छ। “वाक्यमा व्यवहार गरिँदा लिङ्ग, वचन, कारक, पुरुष, इत्यादि व्याकरणिक कोटिका आधारमा कुनै प्रकारको विकार नआउने तथा रूप नफेरिने शब्दलाई अव्यय भनिन्छ।” 

भोलि, पर्सि, अस्ति, पनि, फेरि, खेरि, पारि, वारि, सित, पछाडि, अघाडि, पालि, पट्टि, तिर, सामु, नजिक, अघि, पछि, मुनि, माथि, बित्तिकै, निक्कै, भित्र, बाहिर, किनकि, छिटो, हिजो, अनि, देखि, निम्ति, निमित्त, बिच, लागि, भरि, चोटि, बाजि, पिच्छे, खुब-खुप, छिः, दिउसो, राति, इत्यादि, आदि। तर कतिपय इकारन्त अव्यय चाहिँ दीर्घ लेखिन्छ- यसरी, उसरी, कसरी, जसरी, सिरिरी, फिरिरी, राम्ररी आदि।

२. सर्वनाम सबै दीर्घ लेख्ने।

यी, ऊ, ती, उनी, तिनी, यिनी, यिन, तिमी, हामी, अरू, कोही, यही, केही, त्यहीँ, त्यही, उही, आफू, सोही, यसरी, त्यसरी, आदि।

३. निर्जीव वस्तु र फल-फुल (रुखपात)-को नाम बुझाउने शब्दका पछि दीर्घ ‘इ’ लेखिन्छ।

गाग्री, पानी, छुरी, कोदाली, फोसी, कराई, डेक्ची, ठेकी, हाँडी, दही, मही, घडी, सिँढी, बारी, बाली, टोपी, धिप्री, बर्साती, लेप्टी (बर्साती-लेप्टी शब्द कमानतिर प्रयोग गरिन्छ), थैली, आरी, कैची, फर्सी, मसी, फित्केरी, नाली, कागती, नास्पती (नासपाती), तितेपाती, सयपत्री, मखमली, मिकजिरी, खमारी, पिपली, लप्सी, धुप्पी, च्युरी, भेन्डी, सुपारी, सिरानी, तितिरी, गाडी, हर्दी आदि।

४. इक, इका, इम, इमा, इत, उक इष्ट, इष्ठ –प्रत्यय लागेर बनेका शब्दहरू इकार र उकार ह्रस्व लेखिन्छ। इक-प्रत्यय लाग्दा चाहिँ शब्दको रूप परिवर्तन हुन्छ।

समाज+इक= सामाजिक/ पारिवार+इक= पारिवारिक/ व्यवहार+इक= व्यावहारिक/ भाषा+इक= भाषिक

इका प्रत्यय लागेका शब्दहरू- पत्रिका, सम्पादिका, लेखिका, गायिका, नायिका इत्यादि

इम प्रत्यय लागेका शब्दहरू- अग्रिम, स्वर्णिम, लेखिम, रूपिम,

इमा प्रत्यय लागेका शब्दररू- पूर्णिमा, लघिमा, गरिमा, महिमा इत्यादि

इत प्रत्यय लागेका शब्दहरू- कथित, व्यथित, लिखित, रचित, हर्षित, आनन्दित, पण्डित, मूर्च्छित, दुखित, फलित

उक प्रत्यय लागेका शब्दहरू- इच्छुक, भिक्षुक, कामुक, भावुक, जागरुक

इष्ट प्रत्यय लागेका शब्दहरू- विशिष्ट, स्वादिष्ट, प्रविष्ट, अनिष्ट

इष्ठ प्रत्यय लागेका शब्दहरू- घनिष्ठ, बलिष्ठ, गरिष्ठ, वरिष्ठ


ध्यान दिनु पर्ने – उपर्युक्त प्रत्ययहरू लागेका सबै शब्द तत्सम हुन्।

पदको आदि, मध्य मा ह्रस्व ‘इ’ र अन्त्यमा दीर्घ ‘इ’ लागेका शब्दहरू-

फिरिरी, तिरिरी, तितिरी, सिरिरी, लिरिलिरी, पिरिरी, मिरिरी, बिरिरी, किरिरी, चिरिरी, झिरिरी, थिरिरी

५. उकारान्त (उ-लागेर अन्त हुने) नाम, विशेषण, अव्यय सबै ह्रस्व उ लेख्ने/ (स्थान, जाति र थर बुझाउने शब्दबाहेक)-

बिउ, दाउ, भाउ, माउ, आलु, तालु, पिडालु, सिरु, हिँउ, उनिउँ, साहु, चालु, उल्लु, भालु, लद्‌दु, पत्रु, सिकारु, बिकाउ, लडाकु, सामु, चालु, पनिउँ, गुनिउँ, उल्लु इत्यादि।



चौथो सूत्र (छवटा बुँदा)

१. आइ, याइँ, आउ, आरु, आलु, एलु- प्रत्यय (suffix) लागि बनेका शब्दहरूका इकार र उकार ह्लस्व लेखिन्छ।

लेखाइ, कमाइ, लमाइ, गराइ, दुस्ट्याइँ, सुद्धाइँ, बठ्याइँ, धुर्त्याइँ, ढिल्याइँ, रोपाइँ, घेराऊ, चुनाउ, घेराउ, बिकाउ, सिकारु, जुझारु, मायालु, नसालु, इखालु, मैतालु, दुधालु, खर्चालु, बिखालु, सिपालु, झगडालु, बैँसालु, लजालु, घरेलु

२. आली/आलि/एली/एलि/अडी/अडि/औलि/यौलि – प्रत्यय (suffix) लागि बनेका शब्दहरूका अन्त्यमा इकार दीर्घ लेखिन्छ।

लेकाली, उकाली, ओराली, देवराली, गोर्खाली, रसियाली, अफ्रिकाली, अमेरिकाली, हरियाली, जुनेली, जुरेली, सुरेली, पेरली, तरेली, पुबेली, फ्रान्सेली, बर्मेली, पाल्पाली, जुवाडी, गफाडी, झुपडी, गँजडी, थपडी, ठ्यायौली, रत्यौली, पुर्ख्यायौली, पुस्त्यौली, बुढ्याली, हँस्यौली, उँधौली, उँभौली

३. ति/ती/इनी/इनि/नि/नी-प्रत्यय (suffix) लागि बनेका शब्दका अन्त्यमा इकार दीर्घ लेखिन्छ।

सरसर्ती, बरबर्ती, खलखल्ती, फनफन्ती, धुमधुम्ती, टुलटुल्ती, क्वारक्वार्ती, ग्वारग्वार्ती, छ्यापछ्याप्ती, ट्वालट्वाल्ती, मितिनी, नागिनी, लमिनी, बाघिनी, कागिनी, मालिकनी, साहुनी, धोबिनी, पापिनी, बाँदरनी

४. विशेषण पदमा इकार सबै दीर्घ लेखिन्छ।

गोरी, काली, पातली, दुबाली, बाठी, हँसिली, रसिली राम्री, तरुणी, तन्नेरी, धनी, असली, पढेकी, बुझेकी, सुन्दरी, परिश्रमी, महेनती, बासी

५. विशेषण र नामबाट बनेका भाववाचक नामका अन्त्यमा दीर्घ लेखिन्छ।

अमिरी, गरिबी, इमानदारी, खबरदारी, मास्टरी, डाक्टरी, खेती, नोकरी

६. प्रियार्थक शब्दका अन्तमा उकार ह्रस्व लेखिन्छ।

सानु, कालु, रामु, नानु, बच्चु, पिकु, देबु, निरु, प्रेमु।  


डा. देवचन्द्र सुब्बा