दीपक जडित

यति सजिलै बद्लिएर जाने यो जीवनमा लय कहाँ?

जबरदस्ती बदल्न पनि ल्याउन सकिन्छ प्रलय कहाँ ?


रुन चाहीँ त खोजेकै हो मेरो मनले पनि अलिकति,

सुन, ए! आँसु तर तिमीसँग खेल्ने मेरो समय कहाँ?


अर्कै थिएँ म, बदल्दैछौ; फेरि पैले झैं खोज्यौ भने,

म भित्र घरि घरिलाई परिवर्तनको विषय कहाँ?


दुखाई रहने केही क्षेत्र भत्कियोस् भन्छु यो मुटुको,

मनको खेतमा त्यति सजिलै आउने रहेछ भूक्षय कहाँ?


सकुँ बदल्न केही न केही यै कामनाले दु:खी बनिरहें,

स्वयं बद्लिएँ अनि सुखमा छु दु:ख फर्कने भय कहाँ?


जो रंगहरू भन्दा माथि थियो त्यो बुद्ध मैले कालो देखें, 

शरण खोजुँला कुनैदिन तर त्यो क्षण मेरो आश्रय कहाँ?


मैले आफैंलाई जित्नु पर्नेछ मेरो युद्धमा तिम्रो दरकार छैन,

तिमीसँग त प्रेम छ प्रेममा विजय कहाँ पराजय कहाँ?


समयको थप्पडले निभाएपछि माटोको भाँडो रह्यो दीपक,

अब माटोसँग, माटोको भाँडोसँग मैले खोजेको विनय कहाँ?


~ दीपक जडित ~

Dipak Jadit