उपेन्द्रबहादुर 'जिगर'

 दिल फगत् मैले चढाए थेँ नजर होला भनी

यो दरदले त्यो दर्दमा क्यै असर होला भनी ।


निर्दयी झैँ झन् हृदय टुकडा गर्यौस तरवारले

थाहा थिएन दर्दले तडपी हृदय रोला भनी।


एक म छु कि जुल्म सब हाँसी हाँसी सहिरहेछु

एक तिमी छौ कि दया गरछौ दगा होला भनी ।


एक म छु कि नजरको आँसु पनी साँचिरहेछु

एक तिमी माया बगाउने विरहको खोला बनी ।



फूलको काँढा पनि भमराको निम्ति चिज छ

छैन दृष्टि यो नजरमा विरहले छोला भनी ।


आँसु तक हुन्न निगाह हेर मेरो दुर्भाग्य यो

आँसुको जलले ‘जिगर’को विरह क्यै धोला भनी ।


उपेन्द्रबहादुर 'जिगर' (Upendra Bahadur Jigar)

 ‘एक सय एक गजल’ (वि.सं. १९९६)