मोतीराम भट्ट

दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफु मालिक भैगयौ, सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो



इ सानै उमेर् देखि मन् हर्न लागे

इनै सुन्दरीले जुलुम् गर्न लागे

कहाँसम्मको आँट लौ हेर तिन्को

रिसाएर आँखा पनि तर्न लागे

एकैपल्ट आँखा घुमाई दिनाले

कती मर्न लागे कती डर्न लागे

सुनिस् मन् मुनियाँ बडा होस राखेस्

बिछाएर जाल् कागुनो छर्न लागे

बिराना र आफ्ना नराम्रा र राम्रा

सबै सुन्दरीका अघि सर्न लागे

अघि पर्न सक्दीनँ मैले हरीका

नजर्देखि 'मोति' पनि झर्न लागे




यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें,
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें।

नत होस् वासकि राखियो नत फूलको रस चाखियो,
नत याद भो नत स्वाद भो, न यता भयें न उता भयें।

बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें।

नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भयें न उता भयें।

नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भयें।



दिनको पचास त के हजार पटक कती समझाउनु ।
म गरीबका घरमा हरे तिमिले यसोरि न आउनू ।।

रिसमा थियौ कि खुशी थियौ मत केही जान्दिन के थियौ ।
कि यसो थियौ कि उसो थियौ मनमा कसोरि बुझाउनू ।।

न त आ भनुँ न त जा भनुँ म यसो भनूँ कि उसो भनूँ ।
तिनीको मिजाज म के भनु कतिसम्म विन्ति चढाउनू ।।

वय सोर्हजको मन साठ्ठीको छ र पो गजब जति प्यारिको ।
मुखको रबाबछ चन्द्रको ननिको छ मिस्सि लगाउनु ।।

मनसुव पुग्नु परै रहोस् दरसन पनि छ कठिनजहाँ ।
अब बाँचन्याछु मता कहाँ तिनीलाई यति सुनाउनु ।।

तिमिबिर्सिहाल त क्यै जनी म त सम्झदो छु अझै पनि ।
मुख भित्र पान चपाउनु अलि हाँसि हाँसि हँसाउनु ।।

मणि हो भनूँ त न झल्कने बिजुली भनूँ त न चम्कने ।
अइना भनूँ त न टल्कन् उपमा कसोरी जुराउनू ।।

तिमी पख भनी भनी कन जानु फेरी नआउनू ।
खपि सक्नु छैन मलाइ ता तिमीले यसोरि छकाउनु ।।

सुन है सबै हरिको हुकुम भनुकि भनूँ जुलम ।
अघि जो भयो उत भै गयो तर फेरी मोति नलाउनू ।।



जसै बङ्गको रंग छाडेर आयें।
तसै फागुको रंगमा म हरायें।।१।।

विनोदको अहा आज खोज्दैछु माला।
नपायेर सार्है दुखी भै करायें।।२।।

उठ्यो झोक जसै योग साघूँ कि भन्ने।
तसै फागु खेलूँ भनी मन डुलायें।।३।।

अबीरको पनी रंग कच्चै रहेछ।
दसेक धार्निमा केहि बढ्तै घसायें।।४।।

ठुलो एक झ्याँगा भरी रंग थियो।
लुगा साथ पसी रंग पक्का जमायें।।५।।

पर्यो फेरि झोक्का अबीरको उ माथि।
अबीर ह्वैन मानो विभूती रमायें।।६।।

लिये झेलि ‘मोती’ अबीरको विभूती।
विनोदी भयी मन्त्र मैले जगायें।।७।।



पयर्मा कडा चोट पायेर आये
म भन्दै थिएँ होस राखेर आये।

फजीती तहाँ भित्रको देख्छ जस्ले
उती फकँदा कान् समायेर आये।

म आउन्न पक्का भनी भन्नु क्यै दिन्,
यती दिन् पछि क्या छकाएर आये।

न केही भनेको न केही सुनेको
बिना कारणै मुख् फुलाएर आये।

म मागेर खोस्ने थिएँ मो कहाँ मन्
कता जानि त्यो मन् लुकाएर आये।

जतिले तहाँ भित्र ता जान पाये
त्यतिले दसेक् ठेक खाएर आए।

अहा कस्तरी छाती झल्क्यो हरीको
जसै मोति माला झुलाये र आये।


~ मोतीराम भट्ट ~ 
Motiram Bhatta