चन्द्रमा आफैँ छँदैछौ पर्छ पाउडर लाउनु ?
ओठ मानोँ रक्त खस्ला पर्छ लाली लाउनु ?
क्या छ सुन्दर, क्या मनोहर क्या रसीलो भाविलो
नक्कले तिर्छी नजरमा पर्छ गाजल लाउन ?
रूप जसको छैन उसले गर्दछे शृङ्गार उति
अप्सराजस्ती तिमी छौ पर्छ टीका लाउनु ?
हार हीरा मात गर्ने दाँत-पंक्ति देख्तछु
कानमा व्यर्थ झुलाई पर्छ यारिङ् लाउनु ?
देहकै पसिना छ तिम्रो खुश्बू चल्ने मगमगी
भित्री चोलीको कुनामा पर्छ, अत्तर लाउनु ?
घुम्दछन् भौँरा सदा आए र जसका मुखमा
फूलको रङ्गी-बिरङ्गी पर्छ गुच्छा लाउनु ?
------
नजाने छुरी बर्सन्छन् हजारौँ, इश्कबाजीमा
र, जाने फूल बर्सन्छन् अनेकौँ, इश्कबाजीमा।
नजाने डुब्छ चुर्लुम्मै जवानी, जेलखानमा
र, जाने अप्सरा खोपी छ आफ्नै, इश्कबाजीमा
नजाने ज्यान नै जाने पचासौँ पर्छ धोखामा
र, जाने काखको मीठो सिरानी, इश्कबाजीमा
नजाने हुन्छ बदनामी, कलङ्की, दागी, दुनियाँमा
र, जाने प्राणको प्यारो सबैको, इश्कबाजीमा
नजाने सम्पत्ति, जीउ विनाशी बग्छ आँसुमा
र, जाने रत्नका माला गलामा, इश्कबाजीमा।
भीमनिधि तिवारी (Bhimnidhi Tiwari)
बयासी र बीस गजल-बाट, १९६३